नेपालको राजनीति अराजकता, अन्यौलता र अकर्मण्यतामा फसेको कारण मार्ग स्पष्ट छैन ।

 

–परिवर्तन भट्टराई (कृति)

नेपालको राजनीति कहाँ पुग्ने हो कुनै टुङुगो छैन । यसो हुन सक्छ वा त्यसो हुन सक्छ भन्ने अड्कलबाजी गर्नु बाहेक केही भन्न सक्ने अवस्था छैन् । ०७२ सालमा संविधान जारी भएपछि नेपालको राजनीति सही मार्गमा हिड्ने विश्वास गरिएको थियो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली नेतृत्वको अत्याधिक बहुमत प्राप्त सरकार गठन भयो । ओली सरकारले समृद्ध नेपाल र सुखी नेपालीको नारा दियो । प्रधानमन्त्री ओलीले भ्रष्टाचारीलाई हेर्दै नहेर्ने बताए । दुई तिहाई नजिकको बहुमत प्राप्त सरकार आज कुन बेला ढल्ने हो कुनै टुङ्गो छैन । नेकपा (माओवादी केन्द्र) ले विश्वासको मत फिर्ता कुन बेला फिर्ता लिने हो कुनै टुङ्गो छैन् । एमालेको माधव नेपाल गुट कुन बेला ओलीको कारबाहीमा पर्ने हो यकिन छैन् । एमाले कुन बेला फुट्ने हो त्यो पनि अनिश्चित छ । प्रधानमन्त्री तथा एमालेका अध्यक्ष ओलीकै कारण आजको अवस्था आएको विश्लेषण गरिएको छ । माधव नेपालको पनि दोष भएको विश्लेषण गरिएको छ । पुष्पकमल दाहालको पनि प्रशस्तै आलोचना भएको छ । नेपाली कांग्रेसले के गर्ने हो स्पष्ट छैन् । जनता समाजवादी पार्टीले पनि कसरी अगाडी बढ्ने स्पष्ट गरिसकेको छैन । नेपालको राजनीति आज अन्यौलमा किन पुग्यो ? यो प्रश्नको जवाफ खोज्न जरुरी छ । विगतमा राजनीतिक अस्थिरता भयो । त्यसको दोष संसदीय व्यवस्थालाई दिइयो । त्यसैले ०७२ सालको संविधानमा सुधारिएको संसदीय व्यवस्थालाई स्वीकार गरियो । सरकार बनेको २ वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाउने संवैधानिक व्यवस्था गरियो । राजनीतिक दलसम्बन्धी कानुनलाई कडा बनाइयो । पार्टीको केन्द्रीय सदस्य र संसदीय दलमा ४० प्रतिशत नपु¥याई पार्टी विभाजन गर्न नसक्ने कानुन निर्माण भयो । यी प्रवाधानहरुलाई अभ्यासमा ल्याएपछि संसदीय व्यवस्थाको सुधार भएको विश्लेषण गरियो । तर, आज व्यवहारमा पुरानो रोग बल्जियो । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको विघटन गरे । संविधानको धाराको आफ्नै पाराले व्याख्या गरे ।

अन्ततः सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभाको विघटन ग¥यो । नेपालको राजनीतिमा देखिएको सबैभन्दा ठूलो समस्या भनेको विचार र व्यवहारमा भिन्नता हुनु हो । लोकतन्त्रको खुबै व्याख्या गरिन्छ तर व्यवहारमा भने निरंकुशताको अभ्यास भइरहेको छ । अर्को समस्या भनेको सत्ताको लागि संघर्ष हुन्छ तर सत्ता प्राप्तिपछि सञ्चालनमा कौशलताको अभाव छ । साम्यवादका कुरा गर्ने कम्युनिष्टहरु पुँजीवादमा लत्रिएका छन् । प्रजातान्त्रिक समाजवादको कुरा गर्ने नेपाली कांग्रेसले पनि खुलेआम पुँजीवादको अभ्यास गरिरहेको छ । अन्य राजनीतिक दलहरुको पनि समस्या उस्तै देखिन्छ । कुरा समाजवादको गर्ने तर व्यवहार पुँजीवादको चरम अभ्यास गर्ने देखिन्छ । नेपालका राजनीतिक दलहरुले आन्तरिक राजनीतिमा परिपक्वता प्रदर्शन गर्न नसक्नु अर्को समस्या रहेको छ । त्यसको प्रभाव संसद, सरकार र अदालतसम्म पुगेको देखिन्छ । अर्को समस्या भनेको देशलाई सन्तुलनमा हाँक्न सक्ने राजनेताको अभाव भयो । विशेषतः कांग्रेस र कम्युनिष्टका नेताहरुले देशलाई सन्तुलनमा हाँक्न सकेनन् । आन्तरिक पार्टी जीवनलाई नेपालका राजनीतिक दलहरुले सशक्त बनाउन सकेनन् । नेपालको शासन प्रणालीलाई संसदीय व्यवस्थाबाट प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसदमा रुपान्तरण गर्न जरुरी छ । यसले क्षमता भएको व्यक्ति चयन हुन्छ । देशभरका जनताले बहुमतले आफ्नो कार्यकारी प्रमुखको चयन गर्छन् । पूर्ण समानुपातिक संसदको निर्माण हुन्छ । यो शासन प्रणालीले राजनीतिक स्थिरता दिन्छ । त्यसैगरी मानवीय भूगोलमा आधारित अधिकारसम्पन्न संघीय संरचना भएको राज्य प्रणालीको निर्माण नहुनु नेपालको राजनीतिमा देखिएको अर्को समस्या हो । त्यसैगरी समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्न नसक्ने अर्को समस्या हो । नेपालको राजनीतिमा यी माथिका समस्याको सम्बोधन गर्न सकिएमा देशले निकास पाउने अपेक्षा गर्न सकिन्छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *